काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) तुर्कमेनिस्तानको अवाजामा आयोजना हुन लागेको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र सम्मेलन (LLDC3) मा सहभागी हुन प्रस्थान गर्दै छन्। सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपालको प्रतिनिधित्व गर्दै उच्चस्तरीय सत्रहरूमा सम्बोधन गर्नुका साथै नेपालले संयोजक राष्ट्रको भूमिकामा नेतृत्व गर्नेछ।
LLDC सम्मेलन भूपरिवेष्टित विकासशील राष्ट्रहरू (Landlocked Developing Countries) को विकास, व्यापार, यातायात पहुँच, जलवायु संकट र अन्तर्राष्ट्रिय सहयोगमा केन्द्रित अन्तर्राष्ट्रिय कार्यक्रम हो। यसपटकको सम्मेलन सन् २०२५ अगस्ट ५ देखि ८ सम्म अवाजा, तुर्कमेनिस्तानमा आयोजना हुँदैछ।
नेपाल LLDC समन्वय ब्यूरोको अध्यक्ष राष्ट्रका रूपमा सह-अध्यक्षता समेत गर्ने छ, जसले नेपालको अन्तर्राष्ट्रिय नेतृत्व क्षमता झल्काउँछ।
प्रधानमन्त्री ओलीको कार्यक्रम
प्रधानमन्त्री ओलीले सम्मेलनमा प्रवेश भाषण दिनेछन् र विभिन्न सत्रहरूमा नीतिगत तथा कूटनीतिक धारणा व्यक्त गर्ने कार्यक्रम छ। सम्मेलन अवधिभर उनले विभिन्न राष्ट्रप्रमुख तथा अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटघाट पनि गर्ने कार्यक्रम तय भएको छ।
यस भ्रमणका क्रममा प्रधानमन्त्रीले भूपरिवेष्टित राष्ट्रहरूका साझा चुनौतीहरू, विशेष गरी पारवहन समस्या, जलवायु परिवर्तन, आर्थिक वृद्धि तथा दिगो विकासका विषयमा नेपालको दृष्टिकोण प्रस्तुत गर्नेछन्।
भ्रमण टोली
प्रधानमन्त्री ओलीसँगै भ्रमणमा श्रीमती राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार ड. विष्णुप्रसाद रिमाल, संघीय सांसद सूर्यबहादुर थापा क्षेत्री, परराष्ट्र सचिव, प्रधानमन्त्री कार्यालयका अधिकारी तथा कूटनीतिक प्रतिनिधिहरू समेत सहभागी हुनेछन्।