काठमाडौं, साउन १७ — नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री सुदन किरातीले पार्टीभित्र मतभेद हुनु स्वाभाविक भए पनि त्यसलाई ‘फुट’ मा परिणत गर्नु गलत भएको बताएका छन्।
उनका अनुसार पार्टी छाडेर अलग बाटो हिँडेका नेताहरू — जस्तै बाबुराम भट्टराई, मोहन वैद्य (किरण), नेत्र विक्रम चन्द (विप्लव) र रामबहादुर थापा (बादल) — ले ऐतिहासिक भूल गरेका छन्।
प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले पार्टीलाई कसैको व्यक्तिगत सम्पत्ति होइन, हजारौँ युवाको बलिदानबाट बनेको संगठनको रूपमा हेर्नुपर्ने बताएका छन्।
“एक हजारचोटि कारबाही भयो भने पनि म पार्टी छोड्दिन। पार्टी फुट्दैन। लेखेर राख्नुस्— फुट्दैन,” — नेता सुदन किराती
“कमजोरीको दोष प्रचण्डको टाउकोमा थोपरेर भाग्न मिल्दैन”
किरातीले प्रचण्डमाथि सारा दोष थोपरेर आन्दोलनबाट अलग हुने प्रवृत्ति अस्वीकार्य भएको बताए।
“नेतृत्वमा कमजोरी हुन सक्छ, तर त्यसको समाधान छलफलबाट गर्नुपर्छ, भागेर होइन।”
उनका अनुसार नेताहरूले दोस्रो, तेस्रो वा चौथो स्थानमा रहेको बेला जिम्मेवारी लिएर काम गरेका थिए। तर नेतृत्वसँग मत फरक परेपछि पार्टी त्याग्नु नैतिक जिम्मेवारीबाट पलायन गर्नु हो।
“यो हाम्रो पुस्ताको बलिदानले बनेको पार्टी हो”
पूर्वमन्त्री किरातीले माओवादी आन्दोलनमा आफ्नो पुस्ताले दिएको योगदानको स्मरण गर्दै भने,
“हामीले रगत बगाएर बनाएको पार्टी हो। त्यसलाई पैतृक सम्पत्ति बनाएर चलाउन दिइँदैन।”उनले पार्टी सुधारको मागलाई राजनीतिक ‘गुटबन्दी’ ठहर गर्नु पनि गलत रहेको टिप्पणी गरे।