नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले पार्टीका कुनै सदस्य या नेताले कसैले आदेश दिँदैमा पार्टी नछाड्ने बताएका छन्‌ ।एक टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिलाई लिएर खनाललाई पार्टी अध्यक्ष नेपालले पार्टी छाडेर जान भनेका थिए । नेपालले त्यस्तो अभिव्यक्तिप्रति खनालले शनिबार पत्रकार भेटघाट क्रममा प्रतिवाद गरेका हुन्‌ ।“मेरो अन्तर्वार्ताबारे उहाँलाई कसैले केही सुनाइदियो होला या आफैँ सुन्नुभयो, थाहा छैन। सोधेको प्रश्नकै आधारमा ‘पार्टी छोड्’ भनेर उहाँले त्यहाँबाट आदेश दिनुभएको छ।”

उनको प्रश्न थियो —
“उहाँले आदेश दिनेबित्तिकै कुनै पार्टीको सदस्यले या नेताले छोड्छ? यही हो कुनै पार्टीको नेताको हैसियत?”


खनालले भावनात्मक रूपमा आफू माधव नेपाललाई भव्य नेता मानेको, तर अहिले उनको व्यवहारबाट आफूलाई अत्यन्तै दुःख लागेको जनाए।

“एउटा नेताले कहिल्यै त्यस्तो अभिव्यक्त गर्दैन। माधवकुमार नेपालका मुखबाट यस्तो अभिव्यक्ति आउला भन्ने मेरो कहिल्यै आशै थिएन,” खनालले भने।


समस्या भए छलफल गर्न सकिन्थ्यो

खनालले कुनै मतभेद वा गलतफहमी भए पनि त्यसलाई पार्टीभित्र बैठक र छलफलमार्फत समाधान गर्न सकिन्थ्यो भन्ने धारणा राखे।

“पार्टीको बैठक बोलाउँदा हुन्छ, त्यसमा छलफल गर्दा हुन्छ, समस्याको समाधान बहसबाटै हुन्छ,” उनले स्पष्ट पारे।उनले समाजवादतर्फ गइरहेको यो संक्रमणकालीन समयमा विचारको बहस हुनु स्वाभाविक भएको र त्यसलाई व्यक्तिगत आक्रोशका रूपमा लिनु कम्युनिष्ट चरित्र विपरीत भएको टिप्पणी गरे।

“अब जबजको युग सकिएको छ”

खनालले आफ्नै पार्टी (एमाले) ले निरन्तरता दिँदै आएको जनताको बहुदलीय जनवाद (जबज) अब पुरानो युगको कार्यक्रम भएको दाबी गरे। उनले भने:

“६२/६३ को क्रान्तिले नेपालमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्‍यो, अबको युग समाजवादी क्रान्तिको हो, त्यसैले अबको कार्यक्रम जबज हुन सक्दैन।”


“एमाले हामीले नै बनायौँ, तर त्यसको नेतृत्व दक्षिणपन्थी बन्यो”

खनालले एमाले पार्टीप्रति कुनै व्यक्तिगत मोह नरहेको, तर त्यो पार्टी आफूहरूले बनाएको पार्टी भएको बताउँदै पछिल्लो नेतृत्वले दक्षिणपन्थी बाटो लिएको आरोप लगाए।

“नेकपा एमाले एक समय असाधारण पार्टी थियो, तर पछिल्लो नेतृत्वले गलत बाटो लिएपछि हामी विद्रोह गर्न बाध्य भयौं।”

One thought on ““पार्टी छाड् भनेर आदेश दिने हैसियत के हो?” — झलनाथ खनालको माधव नेपालमाथि तीखो प्रश्न”

Comments are closed.