काठमाडौं, साउन २२ — चर्चित लोकगायक खेम सेन्चुरीको स्वास्थ्यमा अचानक समस्या आएपछि उनी क्यानडा उड्नुअघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अस्पताल भर्ना भएका छन्। सेन्चुरीलाई पेटमा चर्को पीडा भएपछि उनलाई तत्कालै केएमसी अस्पताल लगिएको हो।
बोर्डिङ पास भइसकेपछि स्वास्थ्यमा समस्या
गायक मोहन खड्काका अनुसार, सेन्चुरीको क्यानडाको लागि बोर्डिङ पास समेत भइसकेको थियो। तर उडानको अन्तिम तयारीका क्रममा उनलाई पेटमा असहजता महसुस भयो। परीक्षणपछि किड्नीमा स्टोन (पथरी) खसेको पाइएको छ, जसले गर्दा असह्य पीडा भएको जनाइएको छ।
खड्काले भने, “गायक खेम सेन्चुरी आजै क्यानडा जाँदै हुनुहुन्थ्यो। बोर्डिङ पास भइसकेपछि समस्या भएको हो। किड्नीमा स्टोन खस्दाखेरी पीडा हुने रहेछ, त्यही भएको हो।“
खेम सेन्चुरीलाई तत्कालै केएमसी (Kathmandu Medical College) अस्पताल भर्ना गरिएको छ। अहिले चिकित्सकहरूले मेडिसिन चलाउने कि सर्जरी (अप्रेसन) गर्ने भन्नेबारे मूल्याङ्कन गरिरहेका छन्। स्वास्थ्य अवस्था गम्भीर भने नरहेको जनाइएको छ।
खड्काले थपे, “मेडिसिन चलाउने कि अप्रेसन गर्ने भन्नेबारे भोलि थाहा हुन्छ। अहिले अस्पतालमै छौं।“
गायक सेन्चुरीको क्यानडा भ्रमण तत्कालका लागि स्थगित गरिएको छ। उनी त्यहाँ सांगीतिक कार्यक्रममा सहभागी हुन जाँदै थिए। दर्शकहरूले उनको चाँडो स्वास्थ्यलाभको कामना व्यक्त गरिरहेका छन्।