भारतको उत्तराखण्डमा गत बुधबार दिउँसो आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका १३ जना नेपालीको सकुशल उद्धार गरिएको छ । शुक्रबार एक जना र बाँकी १२ जनाको शनिबार उद्धार गरिएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

भारतीय अधिकारीहरूले १३ जना नेपालीको उद्धार गरेको जानकारी दूतावासलाई दिएका बताइएको छ । शुक्रबार कालीकोटका वीरेन्द्र कामुको उद्धार गरिएको थियो भने शनिबार प्रशंसा शाह, कोमल शाह, रमन शाहको उद्धार गरिएको छ । दूतावासका अनुसार उनीहरू श्रीमान्, श्रीमती र छोरा हुन् । उनीहरूको ठेगाना खुलाइएको छैन ।

यसैगरी, शनिबार नै दिनेश र गंगा (थप नखुलाइएका श्रीमान् र श्रीमती), सूर्य शाही, प्रविण सिंह, नवराज बोहोरा, गणेशबहादुर शाही, राज बहादुर शाही, दीपेन्द्र शाही र नरेन्द्र शाही रहेका छन् ।

यीमध्ये दिने र गंगा परोलामा बस्ने गरेका थिए भने सूर्य, प्रविण र नवराज हरिद्वार गएका थिए । 

उत्तरकाशी जिल्लाको धराली बजारमा बाढीले सबैभन्दा बढी क्षति गरेको छ । उक्त बाढीमा परेर नेपालको जाजरकोटका ६ जनाको मृत्यु भएको स्थानीयले बताएका छन् । तर, भारतीय सञ्चारमाध्यमहरूले भने ५ जनाको मात्र मृत्यु भएको भनेर लेखेका छन् ।