काठमाडौं, २०८२ साउन १९ —
मेडिकल व्यवसायी तथा सामाजिक व्यक्तित्व दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले रु. २८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न भएपछि पक्राउ परेका प्रसाईंमाथि बैंकिङ कसूरसहितको मुद्दा दायर गरिएको थियो।

उक्त मुद्दामा उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले आज आदेश जारी गरेको हो।

अदालतको आदेशमा भनिएको छ,

“घटना विवरण कागज गर्ने व्यक्तिहरुले गरेको कागज, सह-प्रतिवादीहरुले अनुसन्धानमा दिएको बयान, छानबिन समितिको प्रतिवेदन लगायतका प्रमाणका आधारमा दुर्गा प्रसाईं निर्दोष ठहरिने अवस्था अहिलेसम्म देखिएको छैन। साथै उनी क्यान्सर रोगबाट पीडित रहेको प्रमाण पेश भएकोले, हालका लागि रु.२५ लाख धरौटी वा सो बराबरको बैंक जमानतमा रिहा गर्न सकिने छ।”

त्यस्तैगरी, बैंकिङ कसूरसम्बन्धी अर्को मुद्दामा प्रसाईंसँग थप रु. ३ लाख धरौटी माग गरिएको छ। यसअनुसार, कुल धरौटी रकम रु. २८ लाख पुगेको हो।


दुर्गा प्रसाईं हालसम्म विभिन्न विवादास्पद राजनीतिक तथा सामाजिक अभिव्यक्तिहरूका कारण चर्चामा रहँदै आएका छन्। तीनकुनेमा आयोजित राजावादी प्रदर्शनमा संलग्नतापछि उनलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि उनमाथि आर्थिक अनियमितता र बैंकिङ कसूरसम्बन्धी अनुसन्धान अगाडि बढाइएको थियो।


अदालतको आदेशअनुसार दुर्गा प्रसाईंलाई तत्काल थुनामुक्त गरिएर तारेखमा राखिनेछ, तर मुद्दा भने अघि बढ्नेछ। उनका समर्थकहरूले अदालतको निर्णयलाई स्वागत गरेका छन् भने कानुनी प्रक्रियाले अब अझ स्पष्ट पाटो देखाउने विश्वास व्यक्त गरेका छन्। अदालती आदेश अनुसार धरौटी नबुझाएसम्म रिहा नहुने स्पष्ट गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *