काठमाडौं, नेपाल — नेपाली एमएमए खेलाडी रविन्द्र ढाँटले भारतको मुम्बईमा सम्पन्न Matrix Fight Night (MFN) 17 मा शानदार जित निकाल्दै बान्टमवेट टाइटल आफ्नो नाममा लेखाएका छन्। उनले फाइनलमा बलियो प्रतिस्पर्धी कोरेनलाई पराजित गर्दै नेपाललाई अन्तर्राष्ट्रिय एमएमएको मञ्चमा गौरव दिलाएका हुन्।
यो ऐतिहासिक क्षण उनले आफ्नो प्रशिक्षक दिविज पिया लामालाई समर्पण गरे। दिविज पियाले रविन्द्रको प्रतिभा प्रारम्भिक चरणमै पहिचान गर्दै उनलाई व्यक्तिगत लगानीमा प्रशिक्षण, पोषण, आवास र व्यवस्थापन गर्दै यहाँसम्म ल्याएका थिए।
“यो टाइटल मेरो मात्र होइन, दिविज सरको सपना पनि हो,” रविन्द्रले विजयोपरान्त भने, “उहाँको विश्वास र समर्पण बिना म आज यहाँ हुन्थेँ भन्ने कुरै थिएन।”
प्रशिक्षक दिविजको मार्गदर्शनमा एमएमएको यात्रा
रविन्द्रको यो यात्राको सुरुवात ‘लक एण्ड रोल एमएमए’ बाट भएको थियो। त्यसपछि उनले दिविजकै मार्गदर्शनमा ‘सोमा फाइट क्लब’ मा प्रशिक्षण लिँदै आफ्नो खेल क्षमतामा निखार ल्याए। नेपालमा एमएमएजस्तो कठिन र सीमित स्रोत साधन भएको खेलमा टिक्न पनि चुनौती हुन्छ। तर दिविजले प्रशिक्षण मात्र होइन, आर्थिक र मानसिक समर्थन पनि दिएर रविन्द्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने स्थितिमा पु¥याए।
नेपाली एमएमएको लागी ऐतिहासिक मोड
एमएफएनजस्तो अन्तर्राष्ट्रिय प्लेटफर्ममा नेपालको नाम राख्नु रविन्द्र मात्रको सफलता होइन, सम्पूर्ण नेपाली एमएमए समुदायको जित हो। दिविज पिया लामाको प्रशिक्षण प्रणाली र रविन्द्रको अथक मेहनतले नेपालका अन्य युवा खेलाडीहरूलाई पनि प्रेरणा दिएको छ।एमएमएको क्षेत्रमा नेपालबाट यति ठूलो उपलब्धि दुर्लभ मानिन्छ। अब यो सफलताले भविष्यमा अन्य नेपाली फाइटरहरूको लागि ढोका खोल्ने विश्वास गरिएको छ।