काठमाडौं, २०८२ साउन १९ —
नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा तीन दिनसम्म चलेको स्थायी समिति बैठकले नेकपा (विप्लव)सँग एकता गर्ने सहमति जनाउँदै औपचारिक निर्णय गरेको हो।

स्थायी समिति बैठकको समापनपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी एकता सम्बन्धी निर्णय सार्वजनिक गरे।

‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय भएको छ,’ सापकोटाले भने, ‘छिट्टै एकता हुन्छ। पार्टी एकताका लागि वार्ता समिति पनि छिट्टै बनाउँछौं।’

उनका अनुसार दुवै पार्टीबीच संगठनात्मक संरचना, विचार, कार्यक्रम र रणनीति समायोजनका विषयमा विस्तृत छलफल अघि बढाइनेछ।

यसअघि पनि माओवादी केन्द्र र विप्लव समूहबीच वैचारिक तथा राजनीतिक निकटता रहँदै आएको थियो। सशस्त्र आन्दोलनको बाटो परित्याग गर्दै विप्लव नेतृत्वको नेकपा वैधानिक राजनीतिमा फर्किएपछि माओवादीसँग पुनः एकताको वातावरण बन्न थालेको हो।पार्टी एकताको निर्णयले आगामी निर्वाचन र वाम गठबन्धनको रणनीतिमा समेत महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ।माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपा बीचको सम्भावित एकता नेपाली वाम राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत हुनसक्छ। अब छिट्टै गठन हुने वार्ता समितिबाट एकता प्रक्रिया औपचारिक रूप लिने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *