काठमाडौं, २०८२ साउन १९ —
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशभरका किसानहरूलाई आवश्यक मलखादको यथाशीघ्र व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। शून्य समयमा बोल्दै सांसदहरूले कृषिप्रधान देशको हैसियतमा रहेका किसानहरू मल नपाउँदा धान रोपाइँजस्ता महत्वपूर्ण कृषि गतिविधि प्रभावित भएको गुनासो व्यक्त गरे।
सांसद देवप्रसाद तिमिल्सिनाले नेपालको अर्थतन्त्रको आधार कृषि भए पनि किसानहरू अझै पनि आधारभूत मलखाद नपाएर समस्यामा परेको बताए। उनले भने, “हामी नेपाललाई कृषिप्रधान देश भन्छौं, तर किसानलाई खेती गर्न आवश्यक मलसमेत दिन सक्ने अवस्था छैन भने त्यो लाजमर्दो कुरा हो।”
उनले सरकारलाई तात्कालिक रूपमा मलको आपूर्ति सुनिश्चित गर्न आग्रह गरे र कृषि मन्त्रालय तथा सम्बन्धित निकायलाई प्रभावकारी कार्यान्वयनमा ध्यान दिन सुझाए।
त्यसैगरी, सांसद प्रभु हजाराले मधेस प्रदेशमा केही दिनदेखि वर्षा हुन थालेपछि किसानहरू धान रोपाइँमा जुटेका भए पनि बजारमा मल नपाएर रोपाइँ प्रभावित भएको जानकारी दिए। उनले भने, “धेरै किसानले खेत जोत्न थालेका छन् तर मलको अभावले गर्दा रोपाइँ रोकिएको छ। अब ढिलो भए कृषि उत्पादनमा ठूलो असर पर्नेछ।”
अरु सांसदहरूले पनि मल वितरण प्रक्रियामा देखिएको ढिलासुस्ती, अनियमितता र कागजी प्रक्रिया हटाएर सिधा किसानलाई मल उपलब्ध गराउने प्रणाली विकास गर्न सुझाव दिए।